विसं २०५६ साल मंसिर महिनामा पत्रकार रामबाबु सुवेदीको अध्यक्षतामा प्रेस चौतारी नेपाल चितवन शाखाको पहिलो तदर्थ समिति गठन भएको हो । समितिको सचिवमा ऋषि घिमिरे, कोषाध्यक्षमा जीवलाल पौडेल, सदस्यहरुमा विष्णु छिमेकी, कृष्ण गिरी, हरि पोखरेल, बसन्त पोखरेल, विष्णु वि.क. सेन्चुरी (जो राजाको शासनकालमा राजावादी बने) रहेका थिए ।
त्यसबेला मुलुकमा माओवादी विद्रोही र तत्कालीन राज्यबीच भीषण युद्ध चर्किएको थियो । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दृष्टिकोण नेपाली वामपन्थी पक्षधरहरुको अनुकुल थिएन । एकातिर मुलुक नै पत्रकारहरुका लागि एक खुल्ला कैदको रुपमा रहेको थियो भने अर्काेतिर नेपाली स्वतन्त्र प्रेस राज्य र माओवादी दुवै पक्षको चपेटामा परेको थियो । विषम परिस्थितिका बाबजुद पनि प्रगतिशील पक्षधर पत्रकारहरुले पेशागत हक, हित, मर्यादा र वृत्ति विकासको लागि एकजुट भई आफ्नै एउटा पृथक संगठन प्रेस चौतारी नेपालको गठन गरेका थिए । चितवन प्रेस चौतारी नेपालको २० औँ शाखाको रुपमा गठन भएको हो ।