पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चौतारी र मिडिया नेपालबीच गठबन्धन

कालिका ,चैत १९
नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चौतारी र मिडिया नेपालबिच गठबन्धन गर्ने निर्णय भएको छ । आज (बिहीबार) दुई संगठनबीच भएको बैठकबाट गठबन्धन गर्ने निर्णय भएको हो ।

महासंघको आगामी २५ गते (बुधबार) हुने निर्वाचनमा पत्रकार महासंघ चितवनको संस्थागत विकास, पत्रकारहरुको क्षमता अभिबृद्धी र पेशागत सुरक्षाप्रति प्रतिबद्ध रहने दुई संगठनहरुले निकालेको संयुक्त विज्ञप्तीमा जनाएका छन् ।

सहमतिपत्रमा प्रेस चौतारीको तर्फबाट अध्यक्ष सुवास पण्डित र मिडिया नेपालको तर्फबाट अध्यक्ष समिक्षा पुरीले हस्ताक्षर गरेका छन् । विज्ञप्तीमा चितवनका अन्य पत्रकारिता क्षेत्रसंग सम्बन्धित विभिन्न पेशागत संघ–संगठनहरुलाई महासंघको आगामी नेतृत्व आम सहमतिका साथ सम्पन्न गर्न पनि अपिल गरिएको छ।

प्रेस चौतारी र जनपत्रकार संगठन चितवन बीच निर्वाचनमा मिलेर जाने सहमति

चितवन। पत्रकार महासंघ चितवनको आगामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चौतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयोजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ ।

चितवनको पत्रकारिता क्षेत्रको संस्थागत विकास, श्रमजीवी पत्रकारहरूको पक्षमा एकजुट भएर जाने सहमतिमा उल्लेख छ । दुई संगठनद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघको आगामी नेतृत्व आम सहमतिका साथ सम्पन्न गर्न पत्रकारिता क्षेत्रसँग सम्वन्धित विभिन्न पेशागत संघसंगठनलाई अपिल गरिएको छ ।

प्रेस सङ्गठन नेपाल चितवनको नाम हटाएर प्रेस चौतारी नेपाल चितवन शाखाको बोर्ड राखियो

चितवन, ०२ चैत्र ।

नेकपा (एमाले) निकटको पत्रकारहरुको सङ्गठन प्रेस चौतारी नेपाल चितवन शाखाले आफ्नो कार्यालयमा नाम परिवर्तन गरेको छ । कार्यालयमा रहेको प्रेस सङ्गठन नेपाल चितवनको नाम हटाएर प्रेस चौतारी नेपाल चितवन शाखाको बोर्ड राखिएको हो । सोमबार भरतपुर १० स्थित कार्यालयमा प्रेस चौतारीको बोर्ड राखिएको जिल्ला संयोजक सुवास पण्डितले जानकारी दिनुभयो । यस अगाडि नै प्रेस चौतारीको बोर्ड राख्ने कार्यक्रम तयार गरिएको भए पनि प्रेस चौतारी नेपालको वाग्मती प्रदेश भेलापछि मात्रै बोर्ड राखिएको हो ।

प्रगतिशील पत्रकारहरुलाई प्रेस चौतारीमा गोलबन्ध हुन समेत पण्डितले आग्रह गर्नुभएको छ । सम्पूर्ण कलमजीवीहरु चौतारीमा गोलबन्ध हुँदै पत्रकारका हकहितका लागि लड्नुपर्ने उहाँको भनाइ थियो । यसैबीच, प्रेस चौतारी नेपाल चितवन शाखाले जिल्लाका पत्रकारहरुबीच वनभोज तथा सङ्गठनको भेला गर्ने भएको छ ।

प्रेस चौतारी चितवनलाई ६० लाख पर्ने जग्गा दान

२० भदौ, चितवन । भरतपुर चितवनका युवा व्यावसायी एवम् समाजसेवी तेजबहादुर कार्की (केशव)ले प्रेस चौतारी नेपाल चितवन शाखाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् ।

प्रभु हाउजिङ एण्ड डिलर्स प्रोपोटिज प्रालिका सञ्चालक समेत रहेका कार्कीले भरतपुर ११ बसेनीमा रहेको करिब ६० लाख रुपैयाँ मूल्य पर्ने जग्गा प्रदान गरेका हुन् ।

सोमबार जग्गा प्रदान सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्रेस चौतारी चितवनका अध्यक्ष तिर्थ नेपाल र जग्गादाता कार्कीले हस्ताक्षर गरेका छन् ।

एमाले चितवन जिल्ला अध्यक्ष जे.एन. थपलिया, एमाले सांसद कृष्णभक्त पोख्रेल लगायतको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर भएको प्रेस चौतारी चितवनका उपाध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार जग्गादाता कार्कीले १०-१५ दिनभित्रै लालपूर्जा उपलब्ध गराउने बचन दिएका छन् ।