प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने

५, भदौ, चितवन प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्कारका लागि पत्रकार छनौट गर्न प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको तीन सदस्यीय समिति गठन गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो । सो समितिले एक साता भित्र दुई जना पत्रकारको नाम सिफारिस गर्नेछ । दुई पत्रकारले जनही १०÷१० हजार रकम पुरस्कार पाउनेछन् । एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्व सचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले जोखिम मोलेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुलाई थप उर्जा दिनका लागि जोखिम पत्रकारिता पुरस्कारको संयोजक प्रेस चौतारी चितवनमार्फत गर्नुभएको हो ।

उहाँले आगामी दिनमा यसलाई नियमित गरेर थप रकम संयोजन गरिने जानकारी दिनुभयो । यस्तैं, बैठकले प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ । पत्रकारिता विषय लिएर स्नातक तह र पत्रकारिता विषयमा प्लस टू मा सबैभन्दा धेरै अंक ल्याएर जिल्ला प्रथम हुने एक÷एक जना प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार हरेक बर्ष प्रदान गर्ने निर्णय गरिएको हो । सो पुरस्कारको संयोजन पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गर्नुभएको हो । संगठनको बैठकले १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष सुवास पण्डित, सहअध्यक्ष कृष्ण आचार्य, गोविन्द घिमिरे, इन्दिरा दाहाल, मुकुन्द भूषाल, अमिर रामदाम, राजु थापा, धु्रबराज खनाल, विकास पौडेल, हेमराज रिमाल, सविता दराई, प्रदिप घिमिरे, अमृत काफ्ले, रामशरण गैह्रे र रविना पौडेल रहेको सचिवालय गठन गरेको हो । बैठकले पत्रकार मधुसुदन दवाडी र किशोर खनाललाई बागमती प्रदेश कमिटी सदस्यमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । चौतारीले रामबाबु सुवेदी, नारायण सापकोटा, कृष्ण गिरी, हरिप्रसाद पोखरेल, मुकुन्दराज दाहाल, मनोज विस्ट, सुरेश अधिकारी, सन्तकुमार चौधरी, विश्वास पौडेल सदस्यीय जिल्ला सल्लाहाकार चयन गरेको छ । यस्तैं, संगठनका निवर्तमान अध्यक्ष तीर्थ नेपाललाई संगठनको माथिल्लो कमिटीमा चयनका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । यस्तैं, पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई तथा प्रा.डा. शारदा थपलियाज्यूले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ र प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष कार्यविधी–२०७८ लाई सुझावसहित पारित गरेको छ ।

चितवनको पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेका, पत्रकारिताको माध्यमबाट जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गरेका, अशक्त, विपन्न, दलित, महिला, जनजातीहरुको उथ्थानमा विषेश भूमिका खेलेका र जिल्लाका पत्रकारहरुलाई समक्ष बनाउन विषेश योगदान गरेका सञ्चारकर्मी र सञ्चार संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कारको स्थापना गरिएको संगठनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो । यस्तैं, पत्रकारितालाई मूल पेशा बनाई जिल्लामा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन, सम्मान र सहयोग गर्ने मुख्य उद्देश्य लिएर प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष स्थापना गरिएको हो । बैठकले संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । बैठकले संगठनको भवन निर्माणका लागि सहयोग गर्ने तथा कोरोना भाइरसको संक्रमणबाट पत्रकारलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो । संगठनका सल्लाहाकर सुरेश अधिकारीले भवन निर्माणका लागि १५ हजार ५ सय ५५ र सचिवलाय सदस्य प्रदिप घिमिरेले ५ हजार सहयोग गर्नुभएको छ । संगठनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सहसंयोजक शिशिर सिम्खडाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा केन्द्रीय सदस्य अनन्तप्रकाश सुवेदी, नवराज ढकाल, सल्लाहाकार मुकुन्दराज दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सहअध्यक्ष कृष्ण आचार्यले गर्नुभएको थियो ।

पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चौतारी र मिडिया नेपालबीच गठबन्धन

कालिका ,चैत १९
नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चौतारी र मिडिया नेपालबिच गठबन्धन गर्ने निर्णय भएको छ । आज (बिहीबार) दुई संगठनबीच भएको बैठकबाट गठबन्धन गर्ने निर्णय भएको हो ।

महासंघको आगामी २५ गते (बुधबार) हुने निर्वाचनमा पत्रकार महासंघ चितवनको संस्थागत विकास, पत्रकारहरुको क्षमता अभिबृद्धी र पेशागत सुरक्षाप्रति प्रतिबद्ध रहने दुई संगठनहरुले निकालेको संयुक्त विज्ञप्तीमा जनाएका छन् ।

सहमतिपत्रमा प्रेस चौतारीको तर्फबाट अध्यक्ष सुवास पण्डित र मिडिया नेपालको तर्फबाट अध्यक्ष समिक्षा पुरीले हस्ताक्षर गरेका छन् । विज्ञप्तीमा चितवनका अन्य पत्रकारिता क्षेत्रसंग सम्बन्धित विभिन्न पेशागत संघ–संगठनहरुलाई महासंघको आगामी नेतृत्व आम सहमतिका साथ सम्पन्न गर्न पनि अपिल गरिएको छ।

प्रेस चौतारी र जनपत्रकार संगठन चितवन बीच निर्वाचनमा मिलेर जाने सहमति

चितवन। पत्रकार महासंघ चितवनको आगामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चौतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयोजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ ।

चितवनको पत्रकारिता क्षेत्रको संस्थागत विकास, श्रमजीवी पत्रकारहरूको पक्षमा एकजुट भएर जाने सहमतिमा उल्लेख छ । दुई संगठनद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघको आगामी नेतृत्व आम सहमतिका साथ सम्पन्न गर्न पत्रकारिता क्षेत्रसँग सम्वन्धित विभिन्न पेशागत संघसंगठनलाई अपिल गरिएको छ ।

प्रेस सङ्गठन नेपाल चितवनको नाम हटाएर प्रेस चौतारी नेपाल चितवन शाखाको बोर्ड राखियो

चितवन, ०२ चैत्र ।

नेकपा (एमाले) निकटको पत्रकारहरुको सङ्गठन प्रेस चौतारी नेपाल चितवन शाखाले आफ्नो कार्यालयमा नाम परिवर्तन गरेको छ । कार्यालयमा रहेको प्रेस सङ्गठन नेपाल चितवनको नाम हटाएर प्रेस चौतारी नेपाल चितवन शाखाको बोर्ड राखिएको हो । सोमबार भरतपुर १० स्थित कार्यालयमा प्रेस चौतारीको बोर्ड राखिएको जिल्ला संयोजक सुवास पण्डितले जानकारी दिनुभयो । यस अगाडि नै प्रेस चौतारीको बोर्ड राख्ने कार्यक्रम तयार गरिएको भए पनि प्रेस चौतारी नेपालको वाग्मती प्रदेश भेलापछि मात्रै बोर्ड राखिएको हो ।

प्रगतिशील पत्रकारहरुलाई प्रेस चौतारीमा गोलबन्ध हुन समेत पण्डितले आग्रह गर्नुभएको छ । सम्पूर्ण कलमजीवीहरु चौतारीमा गोलबन्ध हुँदै पत्रकारका हकहितका लागि लड्नुपर्ने उहाँको भनाइ थियो । यसैबीच, प्रेस चौतारी नेपाल चितवन शाखाले जिल्लाका पत्रकारहरुबीच वनभोज तथा सङ्गठनको भेला गर्ने भएको छ ।

प्रेस चौतारी चितवनलाई ६० लाख पर्ने जग्गा दान

२० भदौ, चितवन । भरतपुर चितवनका युवा व्यावसायी एवम् समाजसेवी तेजबहादुर कार्की (केशव)ले प्रेस चौतारी नेपाल चितवन शाखाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् ।

प्रभु हाउजिङ एण्ड डिलर्स प्रोपोटिज प्रालिका सञ्चालक समेत रहेका कार्कीले भरतपुर ११ बसेनीमा रहेको करिब ६० लाख रुपैयाँ मूल्य पर्ने जग्गा प्रदान गरेका हुन् ।

सोमबार जग्गा प्रदान सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्रेस चौतारी चितवनका अध्यक्ष तिर्थ नेपाल र जग्गादाता कार्कीले हस्ताक्षर गरेका छन् ।

एमाले चितवन जिल्ला अध्यक्ष जे.एन. थपलिया, एमाले सांसद कृष्णभक्त पोख्रेल लगायतको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर भएको प्रेस चौतारी चितवनका उपाध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार जग्गादाता कार्कीले १०-१५ दिनभित्रै लालपूर्जा उपलब्ध गराउने बचन दिएका छन् ।